तेस्रो क्वाटरफाइनलमा फर्साटिकरको प्रभावशाली जित

बुटवल (खेलदैनिक) । प्रभावशाली जितका साथ दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब जारी तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा फर्साटिकरले बीवाइसी, सुनवललाई ४–० ले हरायो । फर्साटिकरको जितमा सुजन रानाले २ गोल गरे भने सुरज हमाल र बिसु थापाले थप एक–एक गोल गरे ।

खेलमा पराजित बीवाइसीका सन्दिप राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल प्रदेश ५ प्रहरी तालिम केन्द्र र न्यु सिर्जना युवा क्लबबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...