कुवेत विरुद्ध निश्चित अंकका लागि भिड्न तयार छौं : कप्तान चेम्जोङ

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप छनौटतर्फ मंगलबार कुवेत विरुद्ध खेल्ने लागेको नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले कुवेत विरुद्ध निश्चित अंकका लागि खेल्ने बताएका छन् ।

नेपालले आफ्नो पहिलो होम म्याचका रुपमा मंगलबार कुवेतसँग भुटानको थिम्पुमा खेल्दैछ । सोही खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान चेम्जोङले उक्त कुरा बताएका हुन् ।

प्रि–म्याच कन्फिरेन्समा बोल्दै चेम्जोङले भने, “हामीलाई थिम्पुमा धेरै फाईदा छ । हामीलाई अंकको खाँचो छ र हामी त्यसकै लागि भिड्ने छौं । हामी पूर्ण आत्मविश्वासका साथ मैदानमा उत्रिनेछौं । हामी आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्नेछौं । हामीसँग अंक हात पार्ने राम्रो अवसर पनि छ ।”

विश्वकप छनौटतर्फ समूह बी मा रहेको नेपालसँग ४ खेलबाट ३ अंक छ भने कुवेतसँग ७ अंक रहेको छ । गोलनेपालका अनुसार यदि नेपाललु मंगलबार कुवेत विरुद्धको म्याच जिते, नेपालको एएफसी एसियन कप छनौट खेल्ने सम्भावना कायम रहनेछ ।

उता नेपालका प्रशिक्षक योहान कालिनले पनि टोली कुवेत विरुद्ध भिड्न तयार रहेको बताएका छन् । कालिनका अनुसार मंगलबार हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको र टोलीका सबै खेलाडीहरुको तयारी पनि राम्रो रहेको बताउँदै उनले कुवेतसँग अंक खोस्ने विश्वास समेत व्यक्त गरे ।

स्मरण रहोस, नेपाल र कुवेत बीचको खेल नेपाली समयअनुसार २४५ मा थिम्पु स्थिच चाङलिमिथाङ स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...