महिला फुटबलको उपाधि लेटाङलाई

रमेश समदर्शी

झापा, फागुन २२ । झापाको शनिश्चरेस्थित नमुना खेलमैदानमा आयोजित सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ महिला एफसीले जितेको छ ।

४४औँ सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगितामा लेटाङले झापाको पारिजात महिला एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । आइतबार सम्पन्न फाइनल खेलमा खेलको ३ मिनेटमा पाएको आत्मघाती गोल नै निर्णायक बन्यो । जीतसँगै लेटाङले नगद ५० हजार र ट्रफी पायो ।

नगद ३० हजारमा चित्त बुझाएको पारिजातका लागि सर्वाधिक गोलकर्ता पवित्रा राई, वुमन अफ दी टुर्नामेन्ट सम्झना लावती, बेस्ट मिडफिल्डरको उपाधि शिवानी शर्माले पाउँदा महारानीगञ्ज माविकी दीक्षा चौधरी बेस्ट डिफेन्स भइन् । त्यस्तै, पारिजातकै खुशी राई राइजिङ प्लेयर बनिन् ।

लेटाङका लागि कोपिला धिमाल वुमन अफ दी फाइनल, बेस्ट स्ट्राइकर रेश्मा राई र बेस्ट गोलकिपर कल्पना क्षेत्री घोषित हुँदै नगद पाँच हजार पाउन सफल भए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष अर्जुन राई, टङ्कप्रसाद भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...