आयोजकलाई हराउँदै डिएमसी सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । कठिन जितका साथ डिएमसी, तुल्सीपुर जारी तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनलमा डिएमसीले दश खेलाडीमा सिमित आयोजक नव एकता युवा क्लबलाई शून्यका विरद्ध १ गोलको झिनो अन्तरले हरायो ।

डिएमसीका लागि बासु गुरुङले एक मात्र निर्णायक गोल गरे । त्यस्तै खेलमा रेफ्रीसँग प्रतिवाद गर्दा आयोजक टोलीका अमृत थापाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि आयोजकको टोली खेलको अन्तिमतिर दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

खेलमा पराजित आयोजक नव एकता युवा क्लबका बिमल श्रीस म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर २ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र बीवाइसी बीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...