एकतर्फी जितका साथ फ्रेण्डस क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । फ्रेण्डस क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नगरपालिका–१३ स्थित प्रस्तावित नैकाप स्टेडियममा भएको खेलमा फ्रेण्डसले घरेलु टोली चन्द्रागिरी नगरपालिकालाई ५–० को फराकिलो अन्तरले हरायो ।

खेलमा शुरुवाती पाँच मिनटमा दुई गोल गरेको फ्रेण्डसले पहिलो हाफ मै कुल तीन गोल गर्न सफल भएको थियो । तेस्रो मिनटमै सन्जोग महर्जनले फ्रेण्डसका लागि गोलको खाता खोले भने लगतै पाँचौं मिनटमा शक्ति राईले त्यो अग्रता दोब्बर पारे । त्यस्तै २३औं मिनटमा रुमेश बर्तौलाले फ्रेण्डसका लागि तेस्रो गोल गरे ।

एकतर्फी जित निकालेको फ्रेण्डसका लागि दोस्रो हाफतर्फ ५६औं मिनटमा प्रिजेन तामाङले चौथो गोल गर्दा ७५औं मिनटमा निशान सुब्बाले पाँचौं गोल गर्दै फ्रेण्डसको फराकिलो जित पक्का गरेका थिए ।

फ्रेण्डसले अब क्वाटरफाइनलमा उपाधिको दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत मंसिर २ गते सोमबारको खेल नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच हुने खेल संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

दिपशिखा युवा समूह, चन्द्रागिरी–१३, पुरानो नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि मंसिर १४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...