कप्तान टेक ‘नायक’ बन्दा आर्मीलाई उपाधि

झापा (खेलदैनिक) । कप्तान टेक बुढाथोकी नायक बन्दा विभागीय टोली त्रिभुवन आर्मी क्लब सोमबार सम्पन्न अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

बिर्तामोडा स्थित बिर्ताबजारमा रहेको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल भिडन्तमा आर्मीले दश खेलाडीमा सिमित चर्च ब्वाईज युनाइटेडलाई २–० ले हरायो ।

आर्मीका लागि दुवै गोल कप्तान टेक बुढाथोकीले गरे । उनले खेलको ३२औं र ८०औं मिनटमा गरी दुई गोल गरे । उता खेलको अन्तिमतिर राजेन्द्र रावलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ६ लाख २५ हजारमा चित्त बुझायो । त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच पराजित चर्च ब्वाईजका अशोक खवास घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मी कै कप्तान टेक बुढाथोकी घोषित भए । उनले २५ हजार नगदसहित ३२ इन्चको टिभी हात पारे । अन्य व्यक्तिगत विधातर्फ पनि आर्मी कै वर्चश्वय रह्यो । आर्मी कै विवश चौधरी उत्कृष्ट गोलरक्षक भने दिपक गुरुङ उत्कृष्ट रक्षक चुनिए ।

उत्कृष्ट फरवार्ड पनि आर्मी कै टंक बस्नेत भए भने उत्कृष्ट प्रशिक्षक पनि आर्मी कै नविन न्यौपाने घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार प्राप्त गरे ।

जायोन स्र्पोटस क्लब, बिर्तामोड, झापाको आयोजनामा गत कार्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरि कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...