अन्ततः भुटान मै हुने भयो नेपाल र कुवेतको खेल

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनौट खेलतर्फ नेपाल र कुवेत बीचको खेल तटस्थ मैदान (न्युट्रल भेन्यु) का रुपमा भुटानको थिम्पु स्थित चाङलिमिथाङ स्टेडियम मै हुने भएको छ ।

आउँदो मंसिर ३ गते (तद्अनुसार नोभेम्बर १९ तारीख) का दिन सो खेल नेपालको दशरथ रंगशालामा हुने भनिएको थियो । नेपालको पहिलो होम म्याचका रुपमा रहेको सो खेलका लागि आवश्यक तयारी पनि शुरु भएको थियो ।

तर मैदान निरीक्षणका लागि आएका एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीहरुले बुझाएको रिपोर्टअनुसार दशरथ रंगशालामा तत्काल अन्तर्राष्ट्रिय फुटबल म्याच खेलाउन नमिल्ने बताएपछि त्यहाँ नेपाल र कुवेतको खेल खलाउन एएफसीले अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यतिबेला कुवेतले नेपालमा खेल्न नचाहेको खबर पनि बाहिर आएको थियो । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो खेल न्युट्रल भेन्युका लागि भुटानमा खेलाउन एएफसीलाई पत्राचार गरेको थियो । तर, कुवेतले भुटानमा पनि नखेल्ने समाचार बाहिरिएको थियो ।

यद्यपि अन्तिममा आएर उक्त खेल थिम्पु मै खेलाउन एएफसीले स्वीकृति दिएको छ । यो निर्णयसँगै नेपालको पहिलो होम म्याचका रुपमा त्यो खेल भुटानमा हुने निश्चित भएको छ । सो कुराको जानकारी स्वयम् एन्फाले एक वक्तव्य जारी गर्दै आधिकारिक रुपमा जनाएको छ ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ । त्यसमध्ये अब नेपालले सबै खेल होम म्याचका रुपमा खेल्न मात्र बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...