एएफसी यु–१९ छनौटमा भुटानको सनसनी

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय फुटबलमा एकपछि अर्को सफलता हासिल गरिरहेको भुटानले एएफसी यु–१९ च्याम्पियनसिप छनौटतर्फ सनसनीपूर्ण जित हात पारेको छ ।

छनौट प्रतियोगितातर्फ समूह ई मा रहेको भुटानले आफ्नो अघिल्लो दुई खेलमा जोर्डन र आयोजक बहराईनसँग क्रमश ३–० र ४–० को हार बेहोरेको थियो । त्यो दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको भुटानले आइतबार समूह चरणको अन्तिम खेलमा बंगलादेशमाथि २–१ को सनसनीपूर्ण जित हात पार्यो ।

यो जितपछि ३ खेलबाट ३ अंक जोडेको भुटान अंकतालिकाको तेस्रो स्थानमा रहँदै छनौट प्रतियोगिताको सुखद समापन गर्न सफल भयो । रोचक कुरा त बंगलादेशले समूह चरणतर्फ जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो । त्यस्तै १ अंक जोडेको बंगलादेश भने पुछारमा रह्यो ।

त्यसैगरी ६ र ४ अंक जोडेका आयोजक बहराईन र जोर्डन क्रमश पहिलो र दोस्रो स्थानमा छन् । र, उनीहरु आइतबार नै निर्णायक भिडन्तका लागि तयार छन् । बहराईन र जोर्डनबीचको खेलको नतिजाले नै समूह ईबाट फाइनल चरणमा पुग्ने एक टोलीको टुँगो लाग्नेछ ।

स्मरण रहोस, गत सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ यु–१८ च्याम्पियनसिपतर्फ भुटानले नेपाललाई पनि ३–० ले हराएको थियो । त्यो हार नेपालका लागि कति घातक भईदियो भने, आयोजक राष्ट्र नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिन बाध्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...