सहज जितका साथ फर्साटिकर क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । प्रतियोगिताको उपाधि दावेदार माध्ये एक मानिएको फर्साटिकर युवा क्लब, यहाँ जारी तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा आइतबार भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा फर्साटिकरले शिवपुर एफसीमाथि ३–१ को सहज जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो ।

फर्साटिकरको जितमा मोहन भण्डारी र बिसु थापाले एक–एक गोल गरे । थप एक गोल भने शिवपुरका बिमल पन्तले विपक्षीको बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए । त्यस्तै पराजित शिवपुरका लागि एक मात्र सान्त्वना गोल रबिन थापाले गरे ।

खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रदर्शन गरेका फर्साटिकरका बिसु थापा घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक २५ गते सोमबारको खेल बिएनसी एफसी र स्मृति स्पोर्टस क्लबबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...