उपाधिका लागि आर्मी र चर्च ब्वाईजको आ–आफ्नै दावी

झापा (खेलदैनिक) । शुरुवातबाटै दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूवाृञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा भिड्न तयार छन् ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनल भिडन्तमा यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । सोमबार हुने उपाधि भिडन्तमा दुवै टोलीले उपाधि जित्ने आइतबार आयोजित प्रिम्याच कन्फरेन्समा दाबी गरे ।

आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै सिक्किम आक्रमण एफसीलाई हराएको थियो ।

राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नविन न्यौपानले बताए । फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि जित्ने न्यौपानेले दावी गरे ।

स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै न्यौपानेले भने, ‘हाम्रो गल्ती सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने पनि उनले दाबी गरेका छन् ।

साथै न्यौपानेले चर्च ब्वाईजले पनि बलिया टोलीहरुलाई हराउँदै फाइनलसम्म पुगेको स्मरण गर्दै विपक्षीलाई कम आँक्न नमिल्ने बताए । उनले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताए ।

आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो उसको चौथो पटक फाइनल भिडन्त पनि हो ।

यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताए । उनले भने, ‘यो संयोग मात्र होइन, दुर्लभ भेट पनि हो ।’

आर्मीलाई नियमित तथा सिनियर खेलाडीको अभाव रहेको अवस्थामा चर्च ब्वाइजले त्यसलाई अवसरको रुपमा नलिने बताएका उनले आर्मीको खेलअनुसार रणनीति बनाउने सुनाए । खेलमा हार जीत स्वाभाविक ठानेका उनले निर्धारित समय भित्रै जसले मेहनत गर्छ उसैले उपाधि उचाल्ने पनि बताए ।

राष्ट्रिय लिगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइज फाइनल जीतका लागि शतप्रतिशत मेहनत गर्ने दाबी उनको छ । चर्च ब्वाइजले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा १–० गोलले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो भने पहिलो खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेता टोलीले ६ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...