एएफसी यु–१९ छनौट : नेपालसँग रोकिंदा किर्गिस्तान पनि बाहिरियो

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ च्याम्पियनसिप छनौटतर्फ समूह चरणको अन्तिम खेलमा नेपालले तुलनात्मक रुपमा बलियो आँकिएको किर्गिस्तानलाई बराबरीमा रोक्दै छनौट प्रतियोगिताको केही हदसम्म सुखद समापन गरेको छ ।

इरानमा जारी समूह डी तर्फको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई गोलरहित बराबरीमा रोक्दै पहिलो अंक जोड्यो । यद्यपि छनौट प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि त्यो अंक औपचारिकमा मात्र सिमित बन्यो ।

तर उता त्यो बराबरी किर्गिस्तानका लागि निकै महँगो साबित भईदियो । आफ्नो पहिलो खेलमा आयोजक इरानसँग ३–० ले हारेको किर्गिस्तानले दोस्रो खेलमा युएईलाई २–० ले हराउँदै अन्तिम चरणका लागि छनौट हुने सम्भावना कायम राखेको थियो ।

उता युएई र इरानसँग ४–४ गोल खाएको नेपालका लागि आइतबार तेहरानको पास स्टेडियममा सम्पन्न त्यो खेल अर्थहिन थियो । जहाँ नेपाली खेलाडीहरुले खुलेर पनि खेल्ने प्रयास गरे र किर्गिस्तानलाई बराबरीमा रोक्न सफल पनि भए ।

यो नतिजापछि ३ खेलबाट ४ अंक जोडेको किर्गिस्तान समूह डी को दोस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । १ अंक जोडेको नेपाल भने पुछारमै छ । उता ३ अंक जोडेको युएईले इरानसँग आइतबार नै खेल्दैछ । र, उसको उत्कृष्ट उपविजेताका रुपमा फाइनल चरणमा पुग्ने सम्भावना कायम छ ।

त्यस्तै ६ अंक जोडेको आयोजक इरान भने शिर्ष स्थानमा छ र उसलाई फाइनल चरणका लागि छनौट हुन आज युएईसँग केवल बराबरी नतिजा निकाले पनि प्रर्याप्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...