पुलिसको चुनौति समाप्त, चर्च ब्वाईज र आर्मी उपाधिका लागि भिड्ने

झापा (खेलदैनिक) । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल पुलिस क्लब जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।

शनिबार बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेडसँग १–० को झिनो अन्तरले पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलमा पुलिसले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफमा चर्च ब्वाइजका बिष्णु सुनुवारले पुलिसका सुमन लामालाई बक्स भित्र फल गरेपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो ।

तर लामाले नै त्यो अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार चर्च ब्वाईजका गोलरक्षक बिनय श्रेष्ठले उत्कृष्ट रुपमा बचाउ गरेका थिए । लगतै २६औं मिनटमा सुनिल खड्काले चर्च ब्वाईजका लागि एक मात्र निर्णायक गोल गर्दै पुलिसको चुनौति समाप्त पारेका थिए ।

शनिबारको खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता चर्च ब्वाईजका सुनिल खड्का घोषित भए । उनले पुरस्कार सहित नगद १० हजार प्राप्त गरे । अब चर्च ब्वाईजले उपाधिका लागि सोमबार दावेदार त्रिभुवन आर्मी क्लबसँग फाइनल खेल्नेछ ।

जायोन स्पोर्टस क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ६ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...