नेपाल विरुद्ध कुवेतको माइन्ड गेम : अरब राष्ट्र बाहिर खेल्न किन इच्छुक छैन कुवेत ?

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले हात मै आइसकेको पहिलो होम म्याच आयोजनाको अवसर पनि अन्तिम समयमा गुमाउन पुग्यो ।

कुवेत विरुद्ध १९ नोभेम्बरका दिन दशरथ रंगशाला मै खेल्ने भनिए तापनि फिफा र एएफसीको निरीक्षण टोलीले रंगशाला खेल्नका लागि उपयुक्त नभएको रिपोर्ट पेश गरेको थियो । जसको फलस्वरुप फिफा र एएफसीले नेपाल र कुवेतबीच हुने भनिएको खेल दशरथ रंगशालामा गराउने अनुमति दिन अस्वीकार गर्यो ।

यसबारे अखिल नेपाल फुटबल सघ (एन्फा) ले प्रेस विज्ञप्ती निकाल्दै सबै नेपाली फुटबल समर्थकहरुसँग माफी समेत माग्यो । साथै, एन्फाले सो खेल छिमेकी राष्ट्र भुटानमा आयोजना गर्ने निर्णय गरेको घोषणा समेत गर्यो । तर, कुवेतले भुटानमा खेल्न तयार नभएको प्रतिक्रिया दिएको छ ।

स्मरण रहोस, खेल दशरथ रंगशालामा हुने निश्चित भईसक्दा पनि कुवेतले नेपालमा पनि खेल्न इच्छा देखाएको थिएन । बरु तटस्थ मैदान (न्युट्रल भेन्यु) मा खेल आयोजना गर्न प्रस्ताव समेत अघि सारेको थियो । त्यसका लागि कुवेत एफएले नेपाली टोलीको सम्पूर्ण हवाई र आवास खर्च व्यहोर्ने समेत बताइएको थियो ।

एन्फा भने कुवेत विरुद्धको म्याच भुटान मै खेलाउने मनस्थितिमा छ । त्यसका लागि भुटान एफए पनि सकरात्मक नै छ । खबरअनुसार नेपाल र कुवेत बीचको खेल भुटानमा आयोजना भए, त्यो कृत्रिम प्रकाशमा हुने सम्भावना बढी छ । त्यतिबेला यो मौसममा त्यहाँको तापक्रम १० डिग्री भन्दा कम हुने बताईन्छ ।

जसको अर्थ हो, कुवेती खेलाडीहरु त्यो तापक्रममा खेल्न त्यति अभ्यस्त हुन सक्दैनन् । जुन नेपालका लागि फाईदाजनक पनि बन्न सक्छ । तर कुवेतले यसबारे एएफसीसँग आफ्नो मनसाय पेश गरिसकेको छ । साथै कुवेत लामो यात्रा तय गर्न पनि इच्छुक देखिंदैन ।

कुवेतले एएफसीसँग खेलस्थल परिवर्तन गर्न आग्रह पनि गरेको छ । त्यसका लागि एएफसीले एन्फालाई पत्राचार पनि गरेको छ । आश्चर्यको कुरा त, एएफसीले एन्फालाई किन खेलस्थल परिवर्तन गर्न भनिरहेको छ? त्यो बुझ्न सकिएको छैन । स्रोतका अनुसार भुटानको चाङलिमिथाङ स्टेडियम अन्तर्राष्ट्रिय मापदण्ड कै स्टेडियममा हो । जहाँ विश्वकप छनौट लगायत अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरु आयोजना भईरहेका छन् ।

उता कुवेत विरुद्धको खेल नेपालले आयोजना गर्न गईरहेकोले खेलस्थल छनौटका लागि एन्फासँग पूर्ण अधिकार पनि छ । तत्कालका लागि नेपालले आफ्नै घरमा सो म्याच खेलाउन नसक्ने निश्चित भईसकेको छ । त्यसैले पनि एन्फाले आफूलाई पायक पर्ने थिम्पुलाई घरेलु मैदानका रुपमा रोजेको छ ।

यो अर्थमा कुवेत एफएको नियत हेर्दा उसले निश्चित रुपमा ‘माइन्ड गेम’ खेलिरहेको प्रष्ट हुन्छ । स्रोतका अनुसार कुवेतले भुटानको यात्रा लामो र त्यहाँ प्रवेश गर्न भिषाका लागि पनि समस्या हुने कारण देखाएको छ । तर स्रोतको दावीअनुसार त्यो सत्य नभएको बताईन्छ ।

भुटानमा कुवेतको दुतावास पनि छ । कुवेतलाई भुटान प्रवेशका लागि केहि दिन मात्र भिषाका लागि पर्खनु पर्ने हुन्छ । जबकी नेपाललाई भुटान जानका लागि साता दिनसम्म भिषाका लागि पर्खनु पर्ने यथार्थ पनि छ ।

यी तमाम कुराहरुका बीच के स्पष्ट छ भने, कुवेत अरब देशहरु भन्दा बाहिर गएर नेपाल विरुद्ध खेल्न इच्छुक छैन । यो अर्थमा एएफसीले एन्फाको निर्णयको सम्मान गर्दै कुवेतलाई एन्फाले रोजेकै खेलमैदानमा खेल्न राजी गराउन सक्नुपर्छ ।

यदि कुवेत अझै पनि थिम्पुमा खेल्न इच्छुक नेदेखिए, नेपाल स्वतः सो खेलको विजेता बन्नेछ । साथै, त्यस मानेमा नेपालले त्यो खेल ३–० ले जितेको भनि मान्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...