संघर्षपुर्ण जितका साथ चर्च ब्वाईज सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । संघर्षपुर्ण जित हात पार्दै चर्च ब्वाईज युनाइटेड झापामा जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार सम्पन्न चौथो अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाईजले गोर्खा ब्वाईज क्लब, बुटवललाई टाइब्रकेरमा ४–२ ले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । चर्च ब्वाईजका लागि २१औं मिनटमा सन्तोष न्यौपानेले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर लगतै गोर्खा ब्वाईजका लागि रुमेश बर्तौला क्षेत्रीले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा विजयी चर्च ब्वाईजका गोलरक्षक विनय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । चर्च ब्वाईजले अब सेमिफाइनलमा कार्तिक २३ गते शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत कार्तिक २२ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल दावेदार त्रिभुवन आर्मी क्लब र सिक्किम आक्रमण एफसी (भारत) बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...