दावेदार आर्मी सेमिफाइनलमा

झापा (खेलदैनिक) । बिर्ताबजारमा जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार डोमालाल राजवंशी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले मोलवे एफसी, आसाम (भारत) लाई २–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

आर्मीका लागि खेल शुरु भएको छैठौं मिनटमै कप्तान टेक बुढाथोकीले गोलको खाता खोलेका थिए । खेलमा विपक्षी विरुद्ध अधिकांश समय हावी देखिएको आर्मीका लागि दोस्रो गोल ७४औं मिनटमा दिपक गुरुङले सुन्दर फ्रिकिक मार्फत गरेका थिए ।

बुधबारको खेलमा आर्मीका लागि शुरुवाती गोल गरेका टेक बुढाथोकी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड र गोर्खा ब्वाईज क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...