एएफसी यु–१९ छनौट : नेपालको खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि इरानमा शुरु एएफसी यु–१९ च्याम्पियनसिप छनौटतर्फ नेपालले पहिलो खेलमै हारका साथ खराब शुरुवात गरेको छ ।

इरानमा शुरु समूह डी तर्फको आफ्नो पहिलो खेलमा नेपालले युएईसँग ४–० को फराकिलो अन्तरको हार बेहोरेको छ । तेहरान स्थित पास स्टेडियममा खेलको शुरुवाती समय राम्रो प्रदर्शन गरेको नेपालले त्यसलाई धेरैबेर निरन्तरता दिन सकेन ।

खेलको २७औं मिनटमा रोशन दोङले आत्मघाती गोल गरेपछि नेपालले लय गुमाउन पुगेको थियो । युएईका लागि ३८औं मिनटमा इशा खलफनले अग्रता दोब्बर पारे ।

त्यस्तै दोस्रो हाफतर्फ खलिफा युसुफले ७१औं मिनटमा युएईका लागि तेस्रो गोल गरे भने ८०औं मिनटमा अब्दुल्ला हमदले चौथो गोल गर्दै टोलीको शानदार जित पक्का गरेका थिए ।

नेपालले आफ्नो आगामी खेल बलियो तथा आयोजक राष्ट्र इरानसँग शुक्रबार खेल्नेछ । छनौट प्रतियोगितातर्फ नेपालको समूहमा युएई, इरान र किर्गिस्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...