विभागीय भिडन्तमा एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

झापा (खेलदैनिक) । टाइब्रेकरमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब जारी अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले एपिएफको चुनौति ५–४ ले पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा अन्ततः एपिएफले हारको सामना गर्नुपर्यो । पहिलो हाफको ३०औं मिनटमा हरि कार्कीको गोलबाट अग्रता बनाएको एपिएफले त्यसलाई जोगाउन सकेन ।

उता वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका भोला सिलवालले ७०औं मिनटमा पुलिसका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । मंगलबारको खेलमा सिलवाल नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक २० गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल दावेदार मानिएको त्रिभुवन आमीृ क्लब र मोलवे एफसी, आसाम (भारत) बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...