युवा फुटबल खेलाडी राईलाई गोलनेपालको सहयोग अभियान शुरु

काठमाडौं (खेलदैनिक) । फुटबल खेल्ने क्रममा शरीरको महत्वपूर्ण भाग मेरुदण्ड भाँचिएपछि अस्पतालमा भर्ना भएका युवा फुटबल खेलाडी प्रज्वल राईले सबैसँग सहयोगको अपिल गरेका छन् ।

फेयर फुटबल क्लब, सुनसरीका लागि खेल्ने क्रममा राई यहि कार्तिक ७ गतेका दिन घाइते भएका थिए । हाल उनको धरान स्थित विपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार भईरहेको छ ।

गोलनेपालका अनुसार उनको यो समस्या निकै जटिल रहेको छ र त्यसका लागि यथाशिघ्र शल्यक्रिया गरेर उपचार गर्नुपर्ने बताइएको छ । यदि समयमै उनको उपचार नभए त्यसले राईको शारीरिक क्षमता मै ठूलो असर पार्ने चिकित्सकहरुको भनाई छ ।

त्यसैमाथि राईको परिवारको आर्थिक अवस्था पनि निकै कमजोर भईदिएपछि त्यसले उनको उपचारमा थप समस्या थपिएको छ । अस्पतालका अनुसार राईको उपचारका लागि ५–६ लाख खर्च हुने बताइएको छ । साथै उनको परिवारलाई विभिन्न ऋण गरेर हालसम्म उनको उपचारमा २ लाख खर्च गरिसकेको छ ।

यसैक्रममा युवा फुटबल खेलाडी राईलाई भेट्न हाम्रो भातृ संस्था गोलनेपाल विपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्समा पुगेको थियो । गोलनेपाल त्यहाँ पुग्दा राईको परिवार निकै भावुक बन्न पुगेका थिए । उनीहरुको आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि अस्पतालले राईप्रति त्यति गम्भिर र उत्सुक नबनेको दुःख राईको परिवारले पाखेका थिए ।

देशका लागि खेल्ने सपना बोकेका युवा फुटबल खेलाडी राईले अस्पतालको बेडबाटै भने, “हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । बाबा, आमाले अस्पतालको त्यो बील रकम बुझाउन सक्नुहुन्न । यो अवस्थामा मलाई गोलनेपालका समर्थक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुबाट सहयोग भईदिए म र मेरो परिवार निकै आभार हुने थियौं ।”

उता गोलनेपाल डटकम र खेलदैनिक डटकमलाई एक साथ सञ्चालन गरिरहेको बिबा मिडिया ग्रुपका सिइओ बिक्रम थापाले गोलनेपालको तर्फबाट १० हजार राईलाई सहयोग गर्ने घोषणा गरे । साथै उनले युवा फुटबल खेलाडी राईको अन्तर्राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना सबैले साकार पार्न आफ्नो तर्फबाट सहयोग गर्न आग्रह पनि गरे ।

सिइओ थापा भन्छन्, “गोलनेपाल नेपाली फुटबल खेलाडी तथा फुटबललाई सधै माया गर्ने शुभचिन्तक र शुभेच्छुकहरुका लागि सक्दो सहयोग गर्न तयार छ । हामी घाइते फुटबल खेलाडी राईको उपचारका लागि सक्दो आर्थिक सहयोग जुटाउन पहल गर्नेछौं । साँचो भन्नुपर्दा हामी अभावका कारण कुनै पनि फुटबल खेलाडी र उनका परिवारले यो अवस्थाबाट गुज्रिन नपरोस भन्ने चाहन्छौं ।”

राईलाई सहयोग गर्न गोलनेपालका धरान संवाददाता जनम बराल (९८१६३४८७११) वा सुलभ कट्टेल (९८१९३७८४१८) लाई पनि सम्पर्क गरि सहयोग गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...