प्रथम राजावास गोल्डकप : टिडब्ल्युवाइसी उपाधि नजिक

वराहक्षेत्र (खेलदैनिक) । टिडब्ल्युवाइसी फुटबल क्लब, बिराटनगर जारी प्रदेश १ स्तरीय प्रथम राजावास गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा न्यु स्टार एफसी, सुनसरीलाई २–१ ले हराउँदै टिडब्ल्युवाइसीले फाइनल स्थान पक्का गरेको हो । राजाबास स्थित सरस्वती माविको खेलमैदानमा आठौं मिनटमै बिष्णु पराजुलीले गोल गर्दै न्युस्टारलाई खेलमा सनसनीपूर्ण अग्रता दिलाएका थिए ।

तर खेलमा उत्कृष्ट पूनरागमन गरेको टिडब्ल्युवाइसीका लागि ३७औं मिनटमा मिलन राईले बराबरी गोल फर्काए भने ४५औं मिनटमा भुवन बस्नेतले निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुराए । खेलको म्यान अफ द म्याच टिडब्ल्युवाइसी कै मिलन राई घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक १९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र कल्चरल ग्रीन एफसी, चक्रघट्टीबीच हुने आयोजकले जनाएको छ ।

राजावास युथ क्लब, वराहक्षेत्र–९, राजावासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...