सिक्किम आक्रमण अन्तिम चारमा

झापा (खेलदैनिक) । सिक्किम आक्रमण एफसी (भारत) यहाँ जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै सिक्किमले मोरङको जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

बेलबारीका लागि पहिलो मिनटमै किरण लिम्बुले गोल गर्दै टोलीलाई खेलमा अगाडी बढाएका थिए । तर दोस्रो हाफतर्फ खेलमा फर्किएको सिक्किमका लागि रोहन राईले ५९ र ६२औं मिनटमा लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

तर, सिक्किमले पनि त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता बेलबारीका लागि ६६औं मिनटमा भुषण लिम्बुले दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछि थप रोमाञ्चक बनेको खेलको ७५औं मिनटमा करण राईले सिक्किमका लागि तेस्रो तथा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने सिक्किमका रोहत राई घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

जायोन स्पोर्टस् क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ६ लाख २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...