झापामाथि पुलिसको रोमाञ्चक जित

झापा (खेलदैनिक) । नेपाल पुलिस क्लब बिर्तामोडमा जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली झापा–११ एफसीलाई २–१ ले हरायो । घरेलु समर्थकको प्रर्याप्त समर्थन बटुलेको झापा दुर्भाग्यपुर्ण रुपमा पराजित हुन पुग्यो ।

पुलिसका लागि खेलको १३औं मिनटमा सुमन लामाले फ्रिकिकबाट पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको १४औं मिनटमा सोजन याक्खाले पुलिसका लागि दोस्रो गोल गरेका थिए ।

उता दोस्रो हाफको २९औं मिनटमा झापाका कप्तान योगेश गुरुङले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन । खेलमा पुलिसका सौजन याक्खा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल सिक्किम आक्रमण एफसी, भारत र बेलबारी एफसी, मोरङबीच हुने आयोजकले जनाएको छ । जायोन स्र्पोटस क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ६ लाख २५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...