पोखरा रंगशालाका लागि भारतबाट आइपुग्यो ६३ लाखको दुबो

पोखरा (खेलदैनिक) । नेपालमा आयोजना हुने १३औं दाक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ६३ लाख रुपैंया बराबरको दुवो भारतको कलकत्ताबाट आयात भएको छ । साग लक्षित मैदानका लागि शुक्रबार ३० हजार स्क्वायर फुट दुवो आइपुगेको हो ।

यो सहित करिब ८२ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिएको निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिए । अव रंगशालामा लाग्ने आवश्यक दुवोको नाप जाँच गरेर केही दिन भित्र आयात हुने पनि बरालले जानकारी बताए ।

मैदानमा ८५ हजार स्क्वायर फुट दुबो आवश्यक रहेता पनि भारतबाट आयात गर्दा विग्रेको दुबो समेतलाई सट्टा भर्ना दुवो निर्यात गर्ने कम्पनीले नै गर्ने प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं’ उनले भने–‘जुन काम निकै महत्वको र चुनौतीपूर्ण थियो ।’

मैदान भित्र रोपिएको दुबोको लागि भारतबाटै निर्यात गर्ने कम्पनीका दुई जना प्राविधिकहरु खटिएका छन । उनीहरुले समेत १५ दिन भित्र मैदान तयार भइसक्ने जानकारी दिए । निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिए । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न तिन देखि चार दिन लाग्ने उनले बताए ।

साथै यहि कार्तिक ११ गते भारतको विशाखापट्नम वन्दरगाहमा ग्राण्ड स्टाण्डका सामाग्री आइपुग्ने उनले जानकारी दिए । हाल पोखरा रंगशालामा ८–१० हजार सिट क्षमताका ए, बि र सि गरि तीन ग्यालेरी अबको तिन सातामा तयार भइसक्ने र सो को लागि १२ वटा शौचालयहरुको काम समेत सकिने उनले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख एवम १३औं साग पोखरा सहजिकरण समितीका सदस्य मानबहादुर जिशी शुक्रबार पोखरा रंगशालामा पुगेका थिए । उनले भारतबाट आयातित दुबोको निरिक्षण समेत गरेका थिए । उनले प्रतिक्रिया दिंदै १३औं सागका लागि जति सक्दो छिटो काम सक्नुपर्ने थियो त्यो नभएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने– ‘काम सक्न निर्माण कम्पनीले निकै उत्साह देखाएको छ तर जति छिटो काम सम्पन्न हुनु पथ्र्यो त्यो हुन नसकेकोमा मेरो चिन्ता हो ।’

स्मरण रहोस, यहि आउँदो डिसेम्बरको शुरुवातदेखि शुरु हुन गईरहेको दक्षिण एसियाली खेलकुद यसपटक नेपालको काठमाडौं र पर्यटकीय शहर पोखरमा हुनेछ ।

(तस्विर : सुदर्शन रन्जित)


प्रतिक्रिया दिनुहोस

Loading...