गोलको बर्षा गर्दै ब्वाईज युनियन च्याम्पियन

बेलबारी (खेलदैनिक) । फराकिलो जितका साथ ब्वाईज युनियन क्लब आइतबार सम्पन्न तेस्रो डाँगीहाट गोल्डकपको विजेता बनेको छ । फाइनल खेलमा धरान एफसीलाई ६–० को फराकिलो अन्तरले हराउँदै ब्वाइज युनियनले उपाधि उचाल्न सफल भएको हो ।

बेलबारी १०, भाउने मोरङ स्थित प्रस्तावित डाँगीहाट रंगशालामा भएको एकतर्फी फाइनल भिडन्तमा ब्वाईज युनियनका लागि तपन कार्की एक्लैले चार गोल (१, १८, ४६ र ६०औं मिनट) गरे । त्यस्तै थप दुई गोल गरे खेलको ५३ र ६२औं मिनटमा मेसुकेले गरेका थिए ।

विजेता बनेको ब्वाइज युनियनले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता धरानले २ लाखमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच ब्वाइज युनियन क्लबका कप्तान कमल श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार प्राप्त गरे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी राज लिम्बु घोषित भए । उनले पुरस्कार सहित नगद ३० हजार हात पारे । त्यसैगरी उदयीमान खेलाडी डाँगीहाट एफसीका अरुण लिम्बु चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।

अन्य व्यक्तिगत विधातर्फ पनि ब्वाईज युनियनले वर्चश्व जमायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक ब्वाइज युनियन कै लक्की कार्की चुनिए भने उत्कृष्ट डिफेन्डर पनि ब्वाइज युनियन कै टाम्पी अर्नेष्ट घोषित भए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर धरानका उमेश कार्की बने भने उत्कृष्ट फरवार्ड ब्वाइज युनियन कै तपन कार्की घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही १५–१५ हजार हात पारे । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पनि ब्वाइज युनियनका रन्जित सिंह चुनिए । उनले पनि पुरस्कार सहित नगद १० हजार प्राप्त गरे ।

डाँगीहाट फुटबल क्लब, मोरङको आयोजनामा यहि कार्तिक ३ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...