बिर्तामोडलाई भेट्रान कपको उपाधि

झापा (खेलदैनिक) । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोडले भद्रपुर भेट्रान फुटबल क्लबलाई ४–० ले हराउँदै च्याम्पियन बनेको हो ।

धाइजन चारआली भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न फाइनल खेलमा बिर्तामोडका लागि नरेन्द्रमणि लिम्बूले २ गरे भने प्रेमकुमार लिम्बू र हर्कराज गुरुङले एक–एक गोल गरे । प्रतियोगिताको विजेता बिर्तामोडले उपाधि सहित नगद ६१ हजार हात पार्यो भने उपविजेता भद्रपुरले ४१ हजारमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुर भेट्रानका गोलरक्षक सुवास मेचे घोषित भए । उनलाई नगद ५ हजार १ सय प्रदान गरियो । त्यस्तै, प्रतियोगिताकै ज्येष्ठ खेलाडी काँकरभिट्टा भेट्रान फुटबल क्लबका गंगालाल गुरुङ घोषित भए । उनी ६० वर्ष पुगेर पनि फुटबल खेलमा निरन्तर लागिपरेको भन्दै आयोजकले नगद ५ हजार १ सयसहित सम्मान प्रदान गर्यो ।

प्रतियोगिताको फाइनल खेलमा भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बू (लोचन)लाई आयोजकले नगद २ लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ । विजेता, उपविजेता तथा सम्मानित व्यक्तित्वलाई मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष आशिष वनलगायतले नगद प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...