पुलिसलाई विकास रनिङ शिल्डको उपाधि

भरतपुर (खेलदैनिक) । यस बर्षको टुबोर्ग जेसिज बिकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जित्न सफल भएको छ ।

शनिबार नारायणगढ स्थित क्याम्पाचौरमा सम्पन्न फाइनल भिडन्तमा पुलिसले घरेलु टोली चितवन–११ लाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । फाइनल खेलको म्यान अफ द म्याच पुलिसका मान बहादुर परियार घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

त्यस्तै विजेता बनेको पुलिसले रनिङ शिल्ड उपाधिका साथ नगद ६,०६६६६ रुपैयाँ हात पार्यो भने उपविजेता चितवनले ३,०३३३३ रुपैयामा चित्त बुझायो । त्यसैगरी पुलिस कै रवि पासवान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कार सहित नगद २५ हजार हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलरक्षक बने भने चितवनका सुदान्सु महतो उत्कृष्ट डिफन्डर घोषित भए । सुमन लामा र रुमेश बर्तौला प्रतियोगिताको सर्वोच्च गोलकर्ता बने । फेयर प्ले टिम भने जावलाखेल युथ क्लब बन्यो । उत्कृष्ट सबैले १५–१५ हजार हात पारे ।

नारायणगढ जेसिजको आयोजनामा गत असोज ३० गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...