डिफेन्डिङ च्याम्पियन बिमलको टिसी स्पोर्टस समूह चरणबाटै बाहिरियो

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्ती मगरको टोली टिसी स्पोर्टस् क्लब बंगलादेशमा जारी शेख कमल इन्टरनेशनल क्लबको समूह चरणबाटै बाहिरिएको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको टिसी स्पोर्टसले समूह ए तर्फ आफ्नो अन्तिम खेलमा लाओसको योङ एलिफेन्टस एफसीसँग २–१ को हार बेहोरेको हो । प्रतियोगितामा टिसी स्पोर्टसको यो लगातार तेस्रो हार थियो ।

बंगलादेशको चटगाँव स्थित एमए अजिज स्टेडियममा भएको आफ्नो पहिलो खेलमा टिसी स्पोर्टसले आयोजक चटगाँव अवाहानीसँग ४–१ को हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा चर्चित भारतीय क्लब मोहन बगानसँग २–० ले पराजित भएको थियो ।

शुक्रबार नै भएको समूह ए को अर्को खेलमा मोहन बगानले चटगाँव अवाहानीलाई १–० ले पराजित गर्यो । शुक्रबारको नतिजापछि चटगाँव अवाहानी र मोहन बगान क्रमश समूह विजेता र उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरे ।

दुवैको ६–६ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा चटगाँव समूह विजेता बन्यो । त्यस्तै योङ एलिफेन्टसको पनि ६ अंक भए तापनि दुर्भाग्यपुर्ण रुपमा अंकतालिकाको तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो । उता टिसी स्पोर्टस भने अंकविहीन रुपमा पुछारमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...