दुईपल्टको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो नेपाल

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ फुटबल टोलीले दुईपल्टको अग्रता जोगाउन नसक्दा शुक्रबार म्यानमारको यु–२३ टोलीसँग बराबरीमा चित्त बुझाएको छ ।

कतारको दोहा स्थित दोहा स्पोर्टस क्लबमा भएको खेलमा नेपालले म्यानमारसँग २–२ गोलको बराबरी खेल्न बाध्य भएको हो ।

खेलको दोस्रो मिनटमै अनन्त तामाङको सुन्दर हेड गोलबाट नेपालले शुरुवाती अग्रता बनाएको थियो । यद्यपि पहिलो हाफ हुनु अघि ठिक ४०औं मिनटमा लियोन मोईले म्यानमारका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफसम्म १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा फेरि अग्रता बनाएको थियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रेजिन सुब्बाले ६०औं मिनटमा नेपाललाई दोस्रोपटक खेलमा अग्रता दिलाए ।

तर नेपालले त्यो अग्रता पाँच मिनट पनि जोगाउन सकेन । दोस्रो गोल खाए लगतै ६४औं मिनटमा लियोन मोईले नै म्यानमारका लागि दोस्रो गोल गर्दै खेललाई नाटकीय रुपमा बराबरीमा ल्याएका थिए ।

स्मरण रहोस, नेपाली यु–२३ टोलीले घरमै हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा यो मैत्रीपूर्ण म्याचलाई लिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...