माझी गोल्डकप : सिन्धुली र रामेछाप फाइनलमा

हेटौंडा (खेलदैनिक) । मकवानपुरको बकैया गाउँपालिकामा जारी राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि सिन्धुली र रामेछाप भिड्ने भएका छन् । शुक्रबार भएको सेमीफाइनल खेलमा सिन्धुलीले सुनसरीलाई र रामेछापले मकवानपुरको बकैयालाई पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा मकवानपुरको बकैयालाई २–० गोल अन्तरले पराजित गर्दै रामेछाप फाइनल प्रवेश गरेको हो । रामेछापका मनोज माझी र नबीन माझीले १–१ गोल गरे । खेलमा बकैयाका बिबेक माझी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, दोश्रो सेमीफाइनल खेलमा सिन्धुलीले सुनसरीलाई ३–१ गोलअन्तरले पराजित गर्दै रामेछापसँग उपाधी भिडन्त पक्का गर्यो । सिन्धुलीका लागि राजकुमार माझीले ह्याट्रिक गरे । राजकुमार नै खेलको म्यान अफ द म्याच घोषित भए । उता सुनसरीका लागि गंगाराम माझीले एक मात्र सान्त्वना गोल फर्काए ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ । फाइनलमा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

माझी गोल्डकपमा १५ जिल्लाको माझी समुदायको १७ टिम सहभागी रहेको छ । बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...