पुलिस विरुद्ध चितवन : नयाँ इतिहास रच्ने लक्ष्य

भरतपुर (खेलदैनिक) । नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि भिडन्त फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र घरेलु टोली चितवन–११ भिड्दै छन् ।

फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले क्याम्पाचौरमा नयाँ इतिहास रच्ने दावी गरेका छन् । चितवन–११ का लागि यो स्तरको फाइनल पहिलो हो । त्यसकारण पनि घरेलु टोली बढी उत्साहित छ । चितवनका प्रशिक्षक विजय घलेले घरेलु मैदानमा उपाधि जित्न कुनै कसर बाँकी नराख्ने बताए ।

उता पुलिसले पनि क्याम्पाचौरमा उपाधि उचालेको अनुभव कमै छ । पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीका रुपमा २०५५ सालमा विकास रनिङ शिल्ड उचालेको इतिहास प्रशिक्षकका रुपमा दोहोर्याउने सोचमा छन् ।

प्रि–म्याच कन्फ्रेन्समा बोल्दी दुवै टोलीका प्रशिक्षकहरुले एकअर्कालाई कमजोर नआँक्ने तर प्रतिस्पर्धीको हरेक कमजोरीको फाइदा उठाउने बताए ।

आयोजक नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले फाइनल प्रतिस्पर्धा भव्य हुनेमा आशा व्यक्त गरे । अहिलेसम्मको अवस्था हेर्दा प्रतियोगिता सफल भएको दावी गर्दै उनले शनिबारको खेलमा घरेलु दर्शकलाई आउन आह्वान गरे ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सह–आयोजक रहेको छ । प्रतियोगिताको विजेताले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...