चेम्जोङको निर्णायक गोलसँगै धरान फाइनलमा

बेलबारी (खेलदैनिक) । धरान फुटबल क्लब, सुनसरी यहाँ जारी तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानले आयोजक डाँगीहाट फुटबल क्लब (रातो) लाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

बेलबारी मोरङ स्थित प्रस्तावीत डाँगीहाट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको शुरुवाती नवौं मिनटमा बुद्ध चेम्जोङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता चेम्जोङ खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

धरानले अब फाइनलमा उपाधिका लागि ब्वाईज युनियन क्लब, काठमाडौंको सामना गर्नेछ । फाइनल खेल यहि कार्तिक १० गते आइतबारका दिन हुनेछ । डाँगीहाट एफसी, बेलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...