बिर्तामोड र भद्रपुर धाइजन चारआली भेट्रानको फाइनलमा भिड्ने

झापा (खेलदैनिक) । सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि बिर्तामोड भेट्रान र भद्रपुर भेट्रान भिड्ने भएका छन् ।

नवकालिका खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले दमक लखनपुर भेट्रानलाई र भद्रपुरले विराटनगरको सिएमजी स्वास्थ्य क्लबलाई पराजित गरेपछि फाइनल भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा बिर्तामोडले १–० गोलको संघर्षपूर्ण जीतबाट फाइनल यात्रा तय गरेको हो । बिर्तामोडका लागि दोस्रो हाफको २३औँ मिनेटमा प्रेमकुमार लिम्बूले गरेको गोल नै निर्णायक बन्यो ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा भद्रपुरले टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्यो । त्यसअघि निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा २–१ गोलले विराटनगरलाई पाखा लगाउँदै भद्रपुरले फाइनल खेलका लागि दाबेदारी सावित गर्यो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१ हजार र उपविजेताले ४१ हजार पाउनेछ ।

फाइनल खेलको दिन आयोजकले भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बूलाई नगद २ लाखसहित सम्मान गर्ने आयोजक क्लबका अध्यक्ष आशिष वनले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...