सहज जितका साथ ब्वाइज युनियन फाइनलमा

बेलबारी (खेलदैनिक) । सहज तथा शानदार जितका साथ ब्वाइज युनियन क्लब, काठमाडौं यहाँ जारी तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार प्रस्तावित डाँगीहाट रंगशालामा भएको पहिलो सेमिफाइनलमा ब्वाइज युनियनले शहरी प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेड, काठमाडौंलाई ४–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ब्वाइज युनियनको जितमा अफ्रिकी खेलाडी मेसुकीले दुई गोल गरे भने बिट्टु तामाङले थप एक गोल गरे । त्यस्तै चर्च ब्वाईजका बिकास राईले थप एक गोल आत्मघाती गोलका रुपमा आफ्नै पोष्टमा गरेका थिए ।

खेलमा ब्वाइज युनियनका टाम्पी अर्नेस्टो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक डाँगीहाट एफसी र धरान एफसीबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट फुटबल क्लब, बेलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...