संकटालाई हराउँदै पुलिस फाइनलमा

भरतपुर (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो । मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि दोस्रो हाफको २७औं मिनेटमा सौजन याक्खाले निर्णायक गोल गरे ।

सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिक विपक्षी गोलरक्षकले पञ्च गरेपछि रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै सौजनले सुन्दर गोल गरे । खेलमा निर्णायक गोल गरेका सौजन म्यान अफ दी म्याच घोषित भए ।

पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार घरेलु टोली चितवन–११ को सामना गर्ने छ । चितवन यसअघि नै बुधबार आवेदार टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,०६६६६ हात पार्नेछ भने उपविजेताले ३,०३३३३ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...