मनहरी अध्यक्ष कप फुटबल शुरु

हेटौंडा (खेलदैनिक) । मनहरी–३ हाँडीखोलामा बुधबारदेखि मनहरी अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सूर्यकिरण युवा क्लब मनहरीले आयोजक जनसिद्ध युवा क्लब ‘ए’ लाई १–० गोल अन्तरले परातिज गर्यो ।

खेलमा आयोजकका अरुण प्रजाबाट प्राप्त आत्मघाती उपहार गोल नै सूर्यकिरणको जितका लागि पर्याप्त भयो । खेलमा सूर्यकिरणका सनित थोकर म्यान अफ द म्याच घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले युवाहरुको क्षमता विकासमा मद्दत पुग्ने भन्दै गाउँपालिकाले खेलकुदलाई विशेष महत्व दिएको दावी गरिन् ।

यो प्रतियोगिता मनहरीको सानको रुपमा अघि बढ्दै गरेको बताउँदै उनले अब गाउँपालिकास्तरीय खेलकुद विकास समिती गठन गर्ने तयारी भइरहेको बताइन् ।

जनसिद्ध युवा क्लब अध्यक्ष इमानसिङ थिङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नमुना टोल विकास संस्थाकी अध्यक्ष देवकी ढुंगाना, मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तान, मनहरी गाउँपालिका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

कुल १८ टिम सहभागि प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनसिद्ध युवा क्लबका अध्यक्ष इमानसिंह थिङले जानकारी दिए । यहि आउँदो लक्ष्मी पूजाको दिन प्रतियोगिताको समापन हुनेछ


प्रतिक्रिया दिनुहोस

Loading...