धाइजन चारआली भेट्रान कप शुरु

झापा (खेलदैनिक) । नवकालिका खेलमैदानमा बिहीबारदेखि सुरु धाइजन चारआली भेट्रान फुटबल प्रतियोगितामा चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटनकै दिन भएका पहिलो चरणका क्वाटरफाइनल खेलमा दमक लखनपुर, सिएमजी स्वास्थ्य क्लब, बिर्तामोड भेट्रान र भद्रपुर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका हुन् । उद्घाटन खेलमा काँकरभिट्टा भेट्रान फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै दमक लखनपुर भेट्रान फुुटबल क्लब सेमिफाइनलमा प्रवेश गर्यो ।

दमक लखनपुरको जितमा सुबास आङथुपोले पहिलो हाफको १५ मिनेटमा गोल गरे भने दोस्रो हाफमा विकास राईले आठौँ मिनेटमा गोल गरेर टिमलाई अन्तिम चारमा पुराए ।

दोस्रो खेलमा सिएमजी स्वास्थ्य क्लब विराटनगरले कनकाई भेट्रान फुटबल क्लबलाई २–० गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । सिएमजीका लागि रानुप्रताप रानाले पहिलो हाफको १४औँ मिनेटमा र रोहित कोइरालाले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

तेस्रो खेलमा बिर्तामोड भेट्रान फुटबल क्लबले धरमपुर भेट्रान क्लबलाई २–१ गोलले पराजित गर्यो । बिर्तामोडका लागि गणेश सुब्बाले खेलको १६औँ र २४औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ९औँ मिनेटमा धरमपुरका लीला जोशीले सान्त्वना गोल गरेका थिए ।

त्यसैगरी अन्तिम क्वाटरफाइनल खेलमा आयोजकलाई सडन डेथमा पराजित गर्दै भद्रपुर भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय ननिस्किएपछि सडन डेथमा भद्रपुर विजयी भयो ।

निर्धारित समयको खेलमा भद्रपुरका किरण राई रोहितले र आयोजकका पनि किरण राईले गोल गरेर खेललाई रोमाञ्चक बराबरीमा पुराएका थिए । अन्ततः सडन डेथमा आयोजकलाई ४–३ गोलमा पराजित गर्दै भद्रपुरले अन्तिम चारमा स्थान बनाएको हो ।

धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले ४१ हजार पाउनेछ । प्रतियोगिताको फाइनल खेल ९ गते हुनेछ । प्रतियोगिता अन्तरगत शुक्रबार २ वटै सेमिफाइनल खेल हुनेछन् ।

आयोजकका अध्यक्ष आशिष वनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन झापा जिल्ला फुुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...