माझी गोल्डकप : बकैया र सिन्धुली सेमीफाइनलमा

हेटौडा (खेलदैनिक) । मकवानपुरको बकैया गाउँपालिकामा जारी राष्ट्रिय माझी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बकैया निलो र सिन्धुली सेमीफाइनल प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा बकैयाले नुवाकोटलाई ३–० गोल अन्तरले पराजित गरेको छ । बकैयाको जितमा अनिल माझीले २ र समेश माझीले १ गोल गरे । खेलमा बकैयाका विवेक माझी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, दोश्रो क्वाटरफाइनलमा सिन्धुलीले सर्लाहीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीको अवस्थामा पुगेपछि खेल टाइब्रेकरमा पुगेको हो । उक्त खेलमा सर्लाहिका गोलरक्षक अक्षयलाल माझी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । विहीबारको पहिलो खेलमा सुनसरी र धनुषाबीच प्रतिष्पर्धा हुनेछ भने रामेछाप र खोटाङबीच दोश्रो खेल हुने प्रतियोगिता संयोजक श्याम सुन्दर माझीले जानकारी दिए ।

माझी गोल्डकपमा १५ जिल्लाको माझी समुदायको १७ टिम सहभागी रहेको छ । बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...