दावेदार आर्मीलाई हराउँदै चितवन फाइनलमा

भरतपुर (खेलदैनिक) । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै चितवन–११ जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको पहिलो सेमिफाइनलमा आर्मीले घरेलु टोलीसँग २–१ को स्तब्धपुर्ण हार बेहोरेको हो । चितवनका लागि पहिलो गोल दोस्रो हाफको २० औं मिनेटमा अनिल रानाले गरे । चितवनका यदु सिलवालले गरेको प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले पन्च गरेर फर्काएपछि रिबाउण्ड भएको सोही बललाई अनिलले गोलमा परिणत गरेका थिए ।

त्यसको ८ मिनेटपछि चितवनका कप्तान रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २–० को अग्रता बनाएको थियो । उता आर्मीका लागि जर्सी विमल पाण्डेले दोस्रो हाफको ३७ औं मिनेटमा गोल गरे । यद्यपि त्यो गोल विभागीय टोलीको हार टार्न प्रर्याप्त बनेन ।

बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका चितवनका जितेश गुरुङ म्यान आफ दी म्याच घोषित भए । चितवनका प्रशिक्षक विजय घलेले रणनीतिअनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए ।

त्यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चितवनले राम्रो खेलेको कारण जितेको प्रतिक्रिया दिए । आर्मीको मध्यपंक्तिमा तालमेल नमिल्नाले चितवनले उत्कृष्ट गोल गरेको उनले बताए ।

चितवनले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमीफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र संकटा भिड्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,०६६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३,०३३३३ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...