संकटा क्लब सेमीफाइलनमा

भरतपुर (खेलदैनिक) । रोमाञ्चक जित हात पार्दै संकटा क्लब काठमाडौं नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले जावलाखेल युथ क्लबलाई टाई–ब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिनुपरेको थियो ।

टाई–ब्रेकरमा जावलाखेलका विमल घिसिङको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले रोकेपछि जावलाखेल उपाधि यात्राबाट बाहिर भएको हो । नियमित समयतर्फ संकटाका लागि विश्वास श्रेष्ठले पहिलो हाफको १५ औं मिनेटमा गोल गरेका थिए भने जावलाखेलका लागि जर्सी नम्बर २१ का विमल घिसिङले इञ्जुरी समयमा बराबरी गोल फर्काएका थिए ।

त्यसपछि गरिएको टाई–ब्रेकरमा संकटाका अमित तामाङ र जावलाखेलका विशाल तामाङको प्रहार विफल भएको थियो । जावलाखेलका विमल घिसिङको प्रहार रोकेका संकटाका गोलरक्षक राजाबाबु थापा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

अब संकटाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिससँग खेल्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली चितवन–११ बीच हुने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...