प्रतिस्पर्धात्मक जितका साथ ब्वाइज युनियन सेमिफाइनलमा

बेलबारी (खेलदैनिक) । ब्वाईज युनियन क्लब, काठमाडौं जारी तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको तेस्रो क्वाटरफाइनल म्याचमा ब्वाइज युनियनले आयोजक डाँगीहाट एफसी (निलो) लाई टाइब्रेकरमा ६–५ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

बेलबारी १०, मोरङ स्थित प्रस्तावित डाँगीहाट रंगशालामा भएको खेलमा दुवै टोलीले निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको ४२औं मिनटमा मौसम लिम्बुको गोलबाट डाँगीहाटले शुरुवाती अग्रता बनाएको थियो । तर दोस्रो हाफतर्फ ५८औं मिनटमा फोफोनाले ब्वाईज युनियनका लागि बराबरी गोल फर्काएका थिए । खेलमा ब्वाईज युनियन कै तपन कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक ६ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल पाँचथर एफसी र आयोजक डाँगीहाट एफसी (रातो) बीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट फुटबल क्लब, बेलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १० गते आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...