एपिएफलाई हराउँदै एभरेष्ट सेमिफाइनलमा

वराह क्षेत्र (खेलदैनिक) । एभरेष्ट एफसी, सुनसरी जारी चौथो वराह गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा एभरेष्टले सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौंलाई ४–२ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

वराह क्षेत्र–२, सुनसरी स्थित आदर्श खेलमैदानमा शुरुवाती गोलको अग्रता जोगाउन नसकेको एपिएफले अन्तत पराजयको स्वाद चाख्न बाध्य भयो । खेलको नवौं मिनटमै कुमार दोङको गोलबाट अग्रता बनाएको एपिएफले त्यसलाई जोगाउन सकेन । पहिलो हाफकै ३०औं मिनटमा तिर्थ बस्नेतले एभरेष्टका लागि बराबरी गोल फर्काए भने लगतै ३२औं मिनटमा हिसुप थपलियाले एभरेष्टलाई २–१ को अग्रतामा पुराए ।

त्यस्तै ६९औं मिनटमा निशान लिम्बुले एभरेष्टका लागि तेस्रो गोल गरे भने ७४औं मिनटमा हिसुप थपलियाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उता खेलको ८१औं मिनटमा श्याम नेपालीले एपिएफका लागि दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।

खेलमा एभरेष्टका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत कार्तिक ६ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक वराह क्षेत्र फुटबल क्लब र चर्च ब्वाईज, काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...