नेपाली फुटबललाई अमेरिकी फुटबल फेडरेशनले सघाउने

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलमा एक पछि अर्को विकासको फड्को मारिरहेको अमेरिकाले नेपाली फुटबलको विकास र प्रवद्र्धनमा सघाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा हालै अमेरिका पुगि अमेरिका फुटबल फेडरेशनका प्रतिनिधि मण्डलसँग भेटघाट तथा आवश्यक छलफल गरेका थिए ।

अमेरिकी फुटबल फेडरेशनका प्रमुख प्रशासकीय अधिकारी ब्रेन रेमीडीको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा अमेरिकाले नेपाली फुटबलको विकासमा सघाउने प्रतिवद्धता जाहेर गरेको हो । एन्फाका अनुसार फेडरेशनले नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण कदम चाल्ने बताएको छ ।

साथै फेडरेशनले नेपालका उदयीमान सिनियर तथा जुनियर फुटबल खेलाडीहरुका लागि आवश्यक स्काउटिङ वर्कशपको पनि आयोजना गर्ने बताइएको छ । त्यस्तै फेडरेशनले अमेरिकामा रहेका नेपाली प्रशिक्षकहरुका लागि कोचिङ कोर्ष सञ्चालन गर्ने विषयमा पनि सकरात्मक रहेको बताएको छ ।

त्यति मात्र नभएर अमेरिकी फुटबल फेडरेशनले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सन् २०२६ को फिफा विश्वकपको प्रचार, प्रसार र प्रवद्र्धनको शुरुवात गर्ने योजनामा समेत रहेको जनाएको छ । स्मरण रहोस, सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने अधिकार पाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...