तेस्रो डाँगीहाट गोल्डकप शुरु, चर्च ब्वाईजको विजयी शुरुवात

बेलबारी (खेलदैनिक) । आइतबारदेखि शुरु तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगितामा चर्च ब्वाईज क्लब, काठमाडौंले बिजयी शुरुवात गरेको छ ।

बेलबारी १०, मोरङ स्थित प्रस्तावित डाँगीहाट रंगशालामा भएको उद्घाटन खेलमा चर्च ब्वाईजले टाइब्रेकरमा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ६–५ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भए । खेलको ५५औं मिनटमा काकरभिट्टाका लागि कर्ण लिम्बुले गोल गरे तापनि त्यो अग्रता धेरैबेर टिकेन । उता गोल खाएको केही बेरमै चर्च ब्वाईजका लागि मिलन राईले बराबरी गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच मिलन राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत कार्तिक ४ गते सोमबारको खेल धरान एफसी र जि.पी.एस.सी., सिराहाबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...