सहज जितका साथ जावलाखेल क्वाटरफाइनलमा

भरतपुर (खेलदैनिक) । जावलाखेल युथ क्लब, ललितपुर जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार युनाइटेड फूटबल क्लब, दार्जिलिङलाई ३–१ गोलअन्तरले हराउँदै जावलाखेलले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरी खेले तापनि दोस्रो हाफको १७औं मिनटमा जावलाखेलका लागि शक्ति राईले सुजीत बुढाथोकीको पासमा पहिलो गोल गरे । त्यसपछि थप आक्रामक बनेको जावलाखेलका लागि सुजीत बुढाथोकीले त्यो अग्रता दोब्बर पारे ।

यद्यपि दोस्रो हाफको ३८औं मिनटमा शुभम क्षेत्रीले दार्जिलिङका लागि एक गोल फर्काउँदै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर जावलाखेलका लागि इञ्जुरी समयमा सुजीत बुढाथोकीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जावलाखेलको जित पक्का गरे ।

जावलाखेलका लागि दुई गोल गरेका सुजित बुढाथोकी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । जावलाखेलले अब क्वाटरफाइनलमा अर्को दावेदार टोली संकटा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत कार्तिक ४ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल दुई विभागीय टोली साविक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

नारायणगढ जेसीजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...