वराह गोल्डकप शुरु, आयोजकको बिजयी शुरुवात

सुनसरी (खेलदैनिक) । शनिबारदेखि शुरु चौथो वराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक वराहक्षेत्र फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

वराहक्षेत्र ३, सुनसरी स्थित आदर्श खेलमैदानमा भएको उद्घाटन खेलमा वराह क्षेत्रले राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि कुल ८० मिनटको नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यो जितसँगै वराह क्षेत्र प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा आयोजक वराह क्षेत्रका गोलरक्षक सौरव बराल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक ३ गते आइतबारको खेल धनकुटा एफसी र डाँगीहाट एफसीबीच हुने आयोजकले जनाएको छ ।

वराह क्षेत्र फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । यहि कार्तिक ९ गते फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...