डिफेन्डिङ च्याम्पियन एपिएफ क्वाटरफाइनलमा

भरतपुर (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्डको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार झापा–११ विरुद्ध सडन डेथमा जित निकाल्दै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

यसअघि नियमित समयतर्फको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि गरिएको टाई–ब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलले सडन डेथको बाटो तय गरेको थियो । सडन डेथमा झापाका सुरज विकको प्रहार एपीएफका अमृत चौधरीले रोके । त्यसपछिको दबाबपुर्ण पेनाल्टी शुटआउटलाई राजेन्द्र रावलले गोलमा परिणत गर्दै विभागीय टोलीलाई रोमाञ्चक जित दिलाए ।

एपीएफको जितमा नायक बनेका गोलरक्षक अमृत चौधरी म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए । एपिएफले क्वाटरफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत कार्तिक ३ गते आइतबारको खेल युनाइटेड दार्जिलिङ (भारत) र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...