चीन विरुद्ध ६ दशकपछि फिलिपिन्सको ऐतिहासिक उपलब्धी

फिलिपिन्स (सेता) र चीनका खेलाडी ।

एजेन्सी । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ मंगलबार समूह ए का दुई टोली फिलिपिन्स र चीनले गोलरहित बराबरी खेल्दै अँक बाँडे । यो खेलमा चीनले एक अंक हात पार्नु बाहेक त्यस्तो खासै उपलब्धी हासिल नगरे तापनि फिलिपिन्सले भने ऐतिहासिक उपलब्धी हासिल गर्यो ।

फिलिपिन्सको बाकोलोड शहरमा भएको त्यो खेलपश्चात अजाकल्सले ६२ बर्ष पूरानो किर्तिमान तोड्न सफल भयो । एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार फिलिपिन्स ६२ बर्षपछि चीन विरुद्ध अंक खोस्ने पहिलो दक्षिणपूर्वी एसियाली राष्ट्र बन्यो ।

यसअघि सन् १९५७ मा अन्तिमपटक इण्डोनेसियाले चीन विरुद्ध यो उपलब्धी हासिल गरेको थियो । विश्वकप छनौटतर्फ समूह ए मा रहेको फिलिपिन्सले ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ । त्यस्तै ७ अंक जोडेको चीन दोस्रो स्थानमा छ भने १० अंकका साथ सिरिया शिर्ष स्थानमा छ ।

त्यसैगरी ३ अंक जोडेको माल्दिभ्स चौथो स्थानमा छ भने ४ खेलबाट अंकविहीन गुआम पुछारमा रहेको छ । फिलिपिन्सले आफ्नो आगामी खेल १४ नोभेम्बरका दिन मालेमा माल्दिभ्स विरुद्ध खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...