बिकास रनिङ शिल्डमा घरेलु टोलीको बिजयी शुरुवात

भरतपुर (खेलदैनिक) । नारायणगढ जेसिजको आयोजनामा बिहीबारदेखि शुरु टुबोर्ग जेसिज बिकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली चितवन–११ ले बिजयी शुरुवात गरेको छ ।

चितवनस्थित क्याम्पाचौरमा भएको उद्घाटन खेलमा चितवनले मकवानपुर–११ लाई ३–२ ले हरायो । चितवनको जितमा रुमेश बर्तौलाले खेलको ३५ र ५०औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल अनिश श्रेष्ठले ७१औं मिनटमा गरे ।

उता पराजित मकवानपुरका लागि रवि भण्डारीले ६८औं मिनटमा पहिलो गोल गरेका थिए भने ७२औं मिनटमा कृष्ण रुम्बाले दोस्रो गोल गरेका थिए । यद्यपि ती दुई गोल मकवानपुरको हार टार्न प्रर्याप्त बनेन ।

खेलमा चितवनका लागि दुई गोल गरेका रुमेश बर्तौला म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल नेपाल पुलिस क्लब र सरस्वती क्लबबीच हुने आयोजकले जनाएको छ ।

टुबोर्ग बियरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,०६६६६ हात पार्नेछ भने उपविजेताले ३,०३३३३ हात पार्नेछ । प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...