विश्वकप छनौट : बंगलादेशसँग हारबाट जोगियो भारत

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ दक्षिण एसियाको महारथी भारत घरमै सम्भावित हारबाट जोगिएको छ । समूह ई मा रहेको भारतले आफ्नो तेस्रो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

कोलकातामा भएको उक्त खेलको ४२औं मिनटमा साद उद्दीनको गोलबाट बंगलादेशले अप्रत्याशित अग्रता बनाएको थियो । यद्यपि त्यो अग्रतालाई बंगलादेशले अन्तिम समय जोगाउन सकेन । उता हारको संघारमा पुगेको भारतका लागि आदिल अहमद खानले ८८औं मिनटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाएका थिए ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ आफ्नो दोस्रो खेलमा एसियन च्याम्पियन कतारलाई उसकै घरमा बराबरीमा रोकेको भारतले सोही प्रदर्शनलाई आफ्नै घरमा निरन्तरता दिन सकेन । यो नतिजापछि ३ खेलबाट २ अंक जोडेको भारत चौथो स्थानमा छ । त्यस्तै १ अंक जोडेको बंगलादेश भने पुछारमा छ ।

समूह ई तर्फ नै ओमानलाई २–१ ले हराएको कतार १० अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै ६ अंक जोडेको ओमान दोस्रो स्थानमा छ भने ३ अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ ।

छनौट प्रतियोगिता अन्तरगत भारतले अब अफगानिस्तानसँग १४ नोभेम्बरका दिन ताजिकिस्तानको दुसान्बेमा खेल्नेछ भने सोही दिन बंगलादेशले ओमानसँग उसकै घरेलु मैदान अल–सीब स्टेडियममा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...