विश्वकप छनौट : अम्मानमा चुकेको नेपाल

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले मंगलबार राती जोर्डनसँग ३–० को स्तब्ध हार बेहोरेको हो ।

विश्वकप छनौटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि गत साता मात्र नेपालले क्यानबेरामा बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो ।

मंगलबार अम्मान इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले तुलनात्मक रुमा बलियो जोर्डनलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । शुरुवातबाटै रक्षात्मक खेलेको नेपालले तीनै गोल दोस्रो हाफमा खान पुग्यो ।

जोर्डनका खेलाडीलाई दिनेश राजवंशीले बक्स भित्र लडाएपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ५६औं मिनटमा फेरस जायद युसुफले बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए ।

त्यस्तै ७८औं मिनटमा अहमद एर्सनले जोर्डनका लागि दोस्रो गोल गरे भने ८८औं मिनटमा फैसल मोहम्मदले तेस्रो गोल गर्दै जोर्डनको जित पक्का गरेका थिए । खेलमा नेपालले पनि केही अवसरलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफतर्फ बिमल घर्ती मगरको पोष्ट नजिकैबाट गरेको प्रहारले पोष्टको पछाडीको जाली छुन पुगेको थियो ।

त्यस्तै रोहित चन्दले पनि बक्स भित्रबाट गरेको प्रहारलाई जोर्डनका गोलरक्षकले सजिलै नियन्त्रणमा लिएका थिए । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरे तापनि नतिजा आफु अनुकुल निकाल्न भने असफल भयो ।

विश्वकप छनौटतर्फ नेपालले आफ्नो आगामी खेल १९ नोभेम्बरका दिन दशरथ रंगशालामा कुवेत विरुद्ध खेल्नेछ । त्यस्तै उता जोर्डनले भने १४ नोभेम्बरका दिन अष्ट्रेलियासँग खेल्ने कार्यक्रम छ ।

मंगलबारको नतिजासँगै ३ खेलबाट ७ अंक जोडेको जोर्डन दोस्रो स्थानमा छ । नेपाल भने ३ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै मंगलबार नै भएको समूह बी तर्फको अर्को खेलमा चाइनिज ताइपेईलाई ७–१ ले हराएको अष्ट्रेलिया ९ अंकका साथ शिर्ष स्थानमा छ । चार अंक जोडेको कुवेत तेस्रो स्थानमा छ भने अंकविहीन ताइपेई पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...