विश्वकप छनौट : अष्ट्रेलियासँग सिक्ने अवसर

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले आज छनौट चरणकै दावेदार मानिएको बलियो अष्ट्रेलियासँग उसकै घरमा भिड्दै छ । नेपालको फुटबल इतिहासमा अष्ट्रेलियासँगको यो भिडन्त पहिलो पनि हो ।

फिफा वरियतामा अष्ट्रेलिया ४४औं स्थानमा छ भने नेपाल १६१औं स्थानमा छ । विश्वकपमा अष्ट्रेलियाले हालसम्म पाँचपटक सहभागिता जनाईसकेको छ । पहिलोपटक सन् १९७४ को विश्वकप खेलेको अष्ट्रेलियाले त्यसपछि एकैपटक सन् २००६ को विश्वकप खेलेको थियो । त्यसयता विश्व फुटबलको कुम्भमेलामा अष्ट्रेलिया निरन्तर सहभागि छ ।

नेपाल र अष्ट्रेलियाबीचको खेल राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा नेपाली समयअनुसार २:४५ बजे शुरु हुँदैछ । त्यसका लागि नेपाली टोलीलाई समर्थन गर्न त्यहाँ रहेका अधिकांश नेपाली फुटबल समर्थकहरु क्यानबेरा पुगिसकेको बताइएको छ ।

यी दुई टोली बीचको पछिल्ला पाँच खेलहरुको तथ्यांक हेर्दा अष्ट्रेलियाले ३ मा जित र दुईमा हार बेहोरेको छ भने नेपालले दुई हार, दुई बराबरी र एक मा जित हात पारेको छ । विश्वकप देखि लिएर एसियन कपमा समेत आफ्नो बलियो उपस्थिति जनाएको अष्ट्रेलियासँग नेपालले जित र हारको नतिजा भन्दा पनि केही सिक्ने अवसरका रुपमा लिनु जरुरी छ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाल विरुद्ध आफूहरुले सके जति गोल गर्ने आक्रमक रणनीति बनाएको स्पष्ट पारिसकेका छन् । उता नेपालका प्रशिक्षक योहान कालिन्ले अष्ट्रेलिया बलियो प्रतिद्वन्द्वी भए तापनि आफूहरु डटेर भिड्ने प्रतिक्रिया दिएका छन् ।

विश्वकप दोस्रो चरणको छनौटतर्फ समूह बी मा परेको नेपालले अष्ट्रेलियासँग जोर्डन, कुवेत र चाइनिज ताइपेई विरुद्ध होम एण्ड अवे म्याचका रुपमा छनौट प्रतियोगिताका म्याचहरु खेल्ने तय भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...